क्षमता विकास गर्न बाल शिक्षा सहयोगी कार्यकर्तालाई तालिम

प्रबिधि

टोपलाल अर्याल
गुल्मी, ८ फागुन

इस्मा गाउँपालिकामा बाल शिक्षा सहयोगी कार्यकर्ताहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । इस्मा गाउँपालिकाको आयोजनामा गाउँपालिकाका सवै बालकेन्द्र अन्तरगतका सहयोगी कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको हो । बालबालिकाले औपचारिक शिक्षाका आरम्भ गर्ने पहिलो खुट्किलो नै बाल विकास केन्द्र भएकाले सहयोगी कार्यकर्ताहरुको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन तालिम महत्वपूर्ण रहेको स्रोत व्यक्ति लाल बहादुर कुवंरले बताए ।

गाउँपालिकाका ४६ वटा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई तालिममा सहभागी बनाइएको थियो । तालिममा लेखक तथा प्रशिक्षक रिता आचार्य र रिता घिमिरे तिमल्सेनाले बालमैत्री कक्षा संचालन, शैक्षिक सामगीको निर्माण, पाठ्यक्रममा आधारित सिकाई विधि मार्फत सहजीकरण गर्ने र बिषयगत सामग्रीहरुको प्रयोग गरि दण्ड रहित कक्षा संचालनका बिषयमा प्रशिक्षण प्रदान गरेको गाउँपालिकाले जनाएको छ । क्रियशन पब्लिकेशन काठमाण्डौले प्रशिक्षकको सहजीकरण गरेको थियो । पब्लिकेशनका व्यावस्थापक शिव गुरुङ्गले जिल्लाको इस्मा गाउँपालिका र मदाने गाउँपालिकामा संचालन भएको बाल शिक्षा सहयोगीहरुको आवासिय तालिममा काठमाण्डौका अनुभवी एवं दक्ष लेखकहरु प्रशिक्षकको रुपमा उपलब्ध गराएको जानकारी दिए । इस्मा गाउँपालिकामा ४६ बाल विकास केन्द्रमा नौ सय ५० जना बालबालिकाले अध्ययन गर्दै आएका छन् । तालिमको उद्घाटन तथा समापनमा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख विमला खत्री लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *