क्षमता अभिबृद्धि तालिम सम्पन्न

ताजा खबर प्रबिधि

भक्तपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय काठमाडौँले भक्तपुरमा आयोजनमा गरेको दुईदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेकले कियोस परियोजना अन्तर्गत चाँगुनारायण नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहका सदस्य, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिका लागि सञ्चालन गरेको क्षमता अभिबृद्धि तालिम फागुन १८ गते सम्पन्न गरिएको हो ।

समापन कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकामा खाद्य सङ्कटको अवस्था नरहेको बताउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै सुधार गर्दै ल्याएको उल्लेख गरे ।

उनले नगरपालिकामा औषधिको अभाव हुन नदिएको, चाँगु हेल्थपोष्टमा बर्थिङ्ग सेवा सञ्चालन गरेको, वीर अस्पतालको सेवा दुवाकोटमा सञ्चालन गरेको, मानव अङ्ग प्रत्यारोपण केन्द्रको शाखा सञ्चालन गर्न लागेको, स्वास्थ्य संस्था थप गरिएको, १० वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए ।

त्यस्तै शिक्षाको क्षेत्रमा नगरपालिकाले फड्को मारेको बताउँदै उनले भने–‘यो नगरपालिकामा शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेका छन् ।’

नगरपालिकाका सबै विद्यालयको गुणस्तर बृद्धि गर्न पाठ्यक्रम, प्रश्नपत्र, परीक्षणा प्रणाली सबै एउटै व्यवस्था गर्न लागेको पनि उनले बताए ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जनताको आधारभूत आवश्यकताका रूपमा रहेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सुनिश्चित गर्न जनप्रतिनिधि र निगरानी समूहले चासो दिनुपर्ने औँल्याए ।

इन्सेकले ३५ जिल्लामा निगरानी समूह बनाएर नागरिकको आधारभूत आवश्यकता बारेमा छलफल, बहस र पैरवी गरिरहेको उनले बताए ।

देशमा व्यापक रूपमा महिला हिंसाको त्यसमा पनि बलात्कारका घट्ना डरलाग्दो रूपमा बढेको चर्चा गर्दै कार्यकारी निर्देशक गौतमले सन् २०१८ मा मात्रै देशभर १ हजार ४ सय बलात्कारका घटना सार्वजनिक भएको बताए ।

इन्सेक प्रदेश ३ कार्यालयका संयोजक कृष्ण गौतमले स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन निगरानी समूह तथा निर्वाचित जनप्रतिनिधि र सरकारी कार्यलयमा प्रमुखहरूको क्षमता अभिबृद्धि गर्न तालिम आयोजना गरिएको बताए ।

उनले नगरपालिकाले सुनिश्चित गरेको अधिकार पनि सेवाग्राही सम्म पुगेको छ कि छैन भन्नेबारेमा चासो दिने र सेवाग्राहीलाई सेवाप्रदायकसम्म पुर्‍याउने कार्यमा निगरानी समूह लाग्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ कार्यालयका प्रमुख यज्ञ अधिकारीले शान्ति, सुरक्षा र विकासमा मात्रै मानव अधिकारको परिकल्पना गर्न सकिने बताउँदै घर परिवारदेखि नै मानव अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गरे ।

दुईदिने तालिममा स्वास्थ्य, शिक्षा र खाद्य अधिकारको अवस्था विश्लेषण र समाधानका लागि जनप्रतिनिधिको भुमिका, इन्सेक अभियान, मुलुकी देवानी संहिता–२०७४ र फौजदारी संहिताका विशेषताहरू, विकासको  सैद्धान्तिक अवधारण, खाद्य अधिकारको अवस्था विश्लेषण र समाधानका लागि जनप्रतिनिधिको भूमिका, शिक्षा र स्वास्थ अवस्था विश्लेशषण  र समाधानको लागि  जनप्रतिनिधिको भूमिका र मानव अधिकारको अवधारण र सामाजिक तथा सांस्कृतिक विषयकाबारेमा व्यापक छलफल गरिएको इन्सेक प्रदेश ३ का कार्यक्रम संयोजक गणेश भण्डारीले जानकारी दिए ।

दुईदिने तालिममा अनिल ढुङ्गेल, कृष्ण गौतम, माधव पोखरेल, अनिता जधारी, शम्भु दाहाल, यज्ञ अधिकारीलगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा मानव अधिकार निगरानी समूहका सदस्य, जनप्रनिधि, सरकारी कार्यलयका कर्मचारी र सञ्चारकर्मी सहित ५८ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *