रेसुङ्गा नगरपालिकाद्धारा ‘अपाङ्ग परिचय पत्र’ वितरण कार्य सुरु

ताजा खबर बिशेष

हुमाकान्त पोखरेल
गुल्मी, २२ फागुन । रेसुङ्गा नगरपालिकाले अपाङ्गहरुको लागि ‘अपाङ्ग परिचय पत्र वितरण अभियान’ सुरु गरेको छ ।

बुधबार नगरपालिका उपप्रमुख सिता भण्डारीले भिम बहादुर रजालीलाई पहिलो पटक ‘ख’ वर्गको परिचय पत्र वितरण गर्नुभयो । पहिलो दिन कुल १६ जनालाई ‘अपाङ्ग परिचय पत्र’ प्रदान गरिएको छ । जसमध्ये एक पुरुषलाई ‘क’ वर्ग, पाचँ महिला र चार पुरुष गरी नौ जनालाई ‘ख’ वर्ग,  महिला र पुरुष एक–एक जनालाई ‘ग’ वर्ग तथा तीन महिला र एक पुरुष गरी चारजनालाई ‘घ’ वर्गको परिचय पत्र वितरण गरिएको छ ।

नगरपालिकाले नगरसभाबाट ‘अपाङ्गता भएका ब्यक्तिको परिचय–पत्र वितरण कार्यविधि, २०७५’ पास गरेर अपाङ्ग परिचय पत्र वितरण सुरु गरेको हो ।

अपाङ्गहरुको वर्ग छुट्याउनको लागि अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को पहिलो संशोधन २०७५ को दफा ४२ बमोजिम स्थानीय समन्वय समिति बनाएर परिचय पत्र वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

चार प्रकारका परिचय पत्र
नगरपालिकाले चार प्रकारका अपाङ्ग परिचय–पत्र वितरण गरेको छ । जसमध्ये पूर्ण अशक्त अपाङ्गता भएकाहरुलाई ‘क’ वर्गको परिचय पत्र रातो रङ्गको पृष्ठभूमिमा प्रदान गरिएको छ । व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरुमा भएको क्षतिले दैनिक जीवन सम्पादन गर्न असाध्यै कठिन हुने, अति सामान्य काम पनि गर्न नसक्ने, बौद्धिक रुपमा अपाङ्गता भएका, तीब्र रुपमा अटिज्म प्रभावित तथा पूर्ण रुपमा श्रवण–दृष्टिविहिन व्यक्तिहरुले ‘क’ वर्गको रुपमा अपाङ्ग परिचय पत्र पाएका छन् । यस्तो परिचय पत्र पाउनेहरुले मासिक दुई हजार पाउने नगरपालिकाका महिला शाखा प्रमुख पवित्रा पाण्डेले जानकारी दिइन् ।
अति अशक्त अपाङ्गगता भएकाहरुलाई निलो पृष्ठभूमिमा ‘ख’ वर्गको परिचय पत्र वितरण गरिएको छ । शारीरिक वा मानसिक सम्बन्धी विचलन भएतापनि सहयोगीको सहयोगमा समेत आफ्ना न्यूनतम दैनिक क्रियाकलापहरु गर्न कठिनाई हुने, मष्तिस्क पक्षघात, मांसपेशी समस्या लगायतका कारणले ढाड, हात, गोडा, कम्मर आदिले काम गर्न नसकि ह्विलचियर प्रयोग गर्नुपर्ने व्यक्तिहरु र दुवै हात कुम देखि वा पाखुरा देखि मुनै पुरै नचल्ने तथा कम्मर भन्दा मुनिको भाग गुमाएकाहरुले ‘ख’ वर्गको परिचय पत्र पाएका छन् । यस्तो परिचय पत्र पाउनेहरुले मासिक ६०० पाउने ब्यवस्था रहेको पाण्डेले जानकारी दिइन् । मध्यम अपाङ्गता भएकाहरुलाई पहेँलो पृष्ठभूमिमा ‘ग’ वर्गको अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । कृतिम अङ्ग, विशेष प्रकारका जुत्ता जस्ता सहायक सामाग्रीको प्रयोगबाट सामान्य हिड्डुल लगायत दैनिक क्रियाकलापहरु गर्न सक्ने, घँुडामुनिको अङ्गमा मात्र प्रभाव परेको तर सहायक सामाग्रीको प्रयोग नगरी पनि सामान्य हिडडुल गर्न सक्ने, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, ओठ तथा तालु फाटेको र तीन फिट भन्दा मुनिका होचा पुड्का व्यक्तिहरुले ‘ग’ वर्गको परिचय पत्र पाउने नगरपालिकाले जनाएको छ । यस्तो परिचय पत्र पाउनेले मासिक रुपमा भत्ता नपाएपनि अन्य कुराहरुमा सुविधा उपलब्ध गराइने व्यवस्था छ ।
त्यस्तै सामान्य अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो पृष्ठभूमिमा ‘घ’ वर्गको परिचय पत्र प्रदान गरिएको छ । जसमा शारिरीक वा मानसिक सम्बन्धी सामान्य विचलन भएका तर दैनिक जीवनका कामहरु सम्पादन गर्न सक्ने, हात वा खुट्टा केही छोटो भएका, न्यून दृष्टियुक्त व्यक्तिहरु र दुवै गोडाको सबै औँलाका भागहरु नभएकाहरुलाई ‘घ’ वर्गको परिचय पत्र प्रदान गरिएको छ ।

अपाङ्ग परिचय पत्र वितरणका लागि नगरपालिकाको समन्वय समिति
अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नको लागि गाउँपालिकाले छुट्टै समिति समेत बनाएको छ । अपाङ्गगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७५ को दफा ४२ अनुसार नगरपालिकाले ‘स्थानीय समन्वय समिति’ गठन गरेको छ । जसमा नगरपालिका उपप्रमुख संयोजक रहने गरी ११ सदस्यिय समितिको गठन गरिएको छ । समितिमा नगरपालिकाको महिला कार्यपालिका सदस्यमध्येबाट एकजना, पालिकाभित्रका माध्यमिक विद्यालयका प्रध्यानाध्यापक वा स्रोतब्यक्तिबाट एकजना, नगरपालिका प्रमुखले तोकेको स्थानीय स्वास्थ्य चौकी वा अस्पतालको चिकित्सक एकजना, स्थानीय प्रहरी कार्यालयको प्रमुख सदस्य रहने ब्यवस्था छ । त्यसैगरि अपाङ्गता भएका व्यक्तिको हक र हितको लागि काम गरेको सँस्थाको प्रतिनिधी, पालिका भित्रका अपाङ्गता भएका व्यक्तिबाट समन्वय समितिले मनोनयन गरेको एकजना महिलासहित तीनजना, गाउँपालिका उपाध्यक्षले तोकेको कर्मचारी र महिला बालबालिका तथा समाजकल्याण ईकाईको प्रमुख सदस्य सचिव रहेन समतिको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका ओम बहादुर थापाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *